Welcome, Guest

बिश्वो सम्पदा सुचिमा सुचिकृत ६३० मध्ये १०

2018-06-20 / 5.9K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

आर्थिक, सामरिक, प्राविधिकलगायत सम्पूर्ण कुरामा अमेरिका र युरोपियन मुलुकलाई टक्कर दिने हैसियतमा उदाइसकेका एसियाका दुई ठूला मुलुकहरू चीन र भारत । यिनै दुई मुलुकको भुगोलभित्र घेरिएको सानो मुलुक नेपालको भौगोलिक अवस्था विविधतायुक्त छ । दक्षिणमा समुद्री सतहबाट ७० देखि २०० मिटरको उचाईमा रहेको तराई प्रदेशदेखि लिएर उत्तरमा ८,८४८ मिटर अग्लो सगरमाथासम्मको अध्ययन गर्दा भौगोलिक प्राकृतिक भिन्नताको अनुभूति सजिलै गर्न सकिन्छ । त्यसो त प्रकृतिकमात्रै होइन सांस्कृतिक दृष्टिकोणले पनि नेपालको पहिचार विश्वमै फरक छ । बिदेशबाट वर्षेनी नेपाल आउने लाखौं पर्यटकहरू यहाँको प्राकृतिक र जीवित प्राचीन सांस्कृतिक महत्वका सम्पदाहरू अवलोकन गरेर लठ्ठ पर्छन् । नेपालको प्राकृतिक र सांस्कृतिक मुल्य, विश्व सम्पदा सूचीमा परेका १० वटा धरोहरले पनि प्रष्ट पार्छन् । विश्व क्षेत्रफलको हिसाबले करीब ०.०३ प्रतिशत मात्रै ओगटेको नेपालमा विश्व सम्पदा सूचीमा छानिएका विश्वका ६ सय ३० मध्ये १० वटा पर्नु अति नै गर्ब गर्न लायक कुरा हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठन (UNESCO) ले सन् २००० जुन ९ मा प्रकाशन गरेको विवरणमा विश्वका ११८ देशका जम्मा ६३० मध्ये नेपालका १० वटा विश्व सम्पदा सूचिमा समेटेको थियो । कूल ६३० मध्ये ४०० सांस्कृतिक, १२८ प्राकृतिक र २२ वटा मिश्रित स्थल छन् । विश्वमै उदाहरणीय र अनुलनीय रूपमा आफ्नो महत्व बोकेका स्थलहरूलाई आगामी पूर्खाहरूका लागि जीवित राख्ने उद्देश्यले (UNESCO) ले थालेको निगरानी र संरक्षणभित्र नेपालका १० स्थल पर्नु नेपालकै लागि निक्कै गौरबको कुरा हो । बेलायतको लण्डन शहर, भारतको ताजमहल, फ्रान्सको पेरिस, रूसको मस्को, चीनका तिब्बत र विशाल पर्खाललगायतका सूचीमा नेपालका काठमाडौं, भक्तपुर र पाटनलगायत १० स्थल पर्नुले नेपालको पर्यटन सम्भावना विश्वमा झनै फैलिन पाएको छ । नेपालप्रति विश्वका नागरिकको चासो झनै बढ्न गएको छ । विश्व सम्पदा सूचीमा परेका नेपालका १० स्थलको पूर्ण जानकारी यस्तो छ :
 
१.बुध्द जन्मस्थल लुम्बिनी
 
लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा रहेको बुद्ध जन्मस्थान २७ डिग्री २५’ उत्तरी अक्षांश र ८२ डिग्री ४३’ पूर्वी देशान्तरमा अवस्थित छ । विश्वका प्रमुख धर्महरू मध्ये एउटा धर्मको रूपमा स्थापित बुद्ध धर्मका प्रणेताको रूपमा प्रतिष्ठित गौतम बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेकैले विश्वमै नेपालले बुद्ध जन्मेको देशको महत्वपूर्ण स्थान पाएको छ । विश्वभरका बौद्धमार्गीहरूको सबैभन्दा ठूला तीर्थस्थलको रूपमा प्रख्याति पाएको लुम्बिनीको धार्मिक र ऐतिहासिक महत्वकै कारणले युनेस्कोले विश्व सम्पदा अन्तरगत सूचीकृत गरेको छ ।
सर्वप्रथम मौर्य राजा अशोक आफ्नो राज्यभिषेकको वीसौं वर्ष (२४५ ई.पू.) मा लुम्बिनी आएको र शिला स्तम्भ राखेको कुरा बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ । सन् १८९६ मा वीरशम्सेरले नियुक्त गरेका पाल्पाका गर्भनर खड्गशम्सेरको नेतृत्वमा भएको उत्खनन्बाट अशोक निर्मित शिलास्तम्भ प्राप्त भएको थियो । (स्रोत ः खेमराज पोखरेल, गोविन्द मान सिंह कार्की ‘पर्यटन र विकास’ (Tourism And Development) अनुराग प्रकाशन, वाराणसी, यू.पी, प्रथम संस्करण, २०५५, पेज नं ७५) । सम्राट अशोकले अफ्नो जीवनकालमा स्थापना गरेका ६४ स्तम्भमध्ये लुम्बिनीको अशोक स्तम्भ सबैभन्दा महत्वपूर्ण मानिन्छ । सन् १९९४ देखि पुरातत्व विभाग र जापानको बुद्धिष्ट महासंघको संयुक्त प्रयासमा लुम्बिनी विकास परियोजनाअन्तर्गत उल्खनन कार्य भइरहेको छ ।
 
२.चाँगुनारायण मन्दिर
 
समुन्द्र सतहदेखि ५,५०० फिटको उचाईमा भक्तपुर शहरदेखि ५ कि.मि. उत्तरमा बिभिन्न कलाकृतिबाट सजिएको रमणीय पर्यटकीय धार्मिक तीर्थस्थल हो, चाँगुनारायण मन्दिर । प्राकृतिक सौन्र्दयको माझमा यो मन्दिर रहेको छ । चाँगुनारायणलाई कोही चम्पकनारायण, कोही गरूडनारायण, कोही चौपानारायण नामले समेत सम्बोधन गर्छन् । यी नारायण सत्य युगदेखि नै भएको कुरा उल्लेख छ । चाँगुनारायणको मन्दिर काठमाडौं उपत्यकामा सबैभन्दा पहिलेको अर्थात् सबैभन्दा पुरानो मानिन्छ । नेपालको पुरातन संस्कृति कलाले सिंगारिएको यो मन्दिर भव्य छ । यस मन्दिरको वरिपरि कसरी सफा गर्ने र पर्यटकहरूलाई कसरी आकर्षण भन्नेतर्फ ध्यान जानु जरुरी देखिन्छ ।
नेपालको इतिहासमा चाँगुनारायण क्षेत्रलाई एउटा त्यस्तो महत्वपूर्ण दस्तावेज मान्न सकिन्छ कि एउटा सानो चांगु क्षेत्रले प्राचीन नेपालको सम्पूर्ण इतिवृत्तान्त दिलाइरहेको छ । यो तथ्यलाई भुलेर पूरानै ढंगले एउटा सांस्कृतिक र धार्मिक पुरातात्विक क्षेत्रको रूपमा मात्रै लिने हो भने चाँगुनारायाणलाई नचिनेको ठहरिनेछ । तसर्थ, चाँगुनारायण क्षेत्रलाई केही मन्दिर र मुर्तिहरूले सजिएको एक सम्पदा स्थलको रूपमा मात्र होइन, बरू सिंगो नेपालको राजनीति इतिहास बुझाउने एक दरिलो प्रमाणको रूपमा प्रस्तुत गर्न सकिन्छ । (स्रोत ः ओमप्रसाद धौमडेल, सिंगो नेपालको इतिवृति वुझाउने चांगुनारायण भक्तपुर (मासिक) माघ–फाल्गुण अंक ३, वर्ष २१, संख्या–१८७, पेज नं. २४)
 
३.भक्तपुर दरबार क्षेत्र
 
भक्तपुर दरबार क्षेत्रमा ईटा र काठले बनाइएको ५५ झ्याले दरबार र दरबार वरिपरि रहेका प्यागोडा शैलीका मन्दिरहरूको समष्टिलाई भक्तपुर दरबार क्षेत्रले प्रतिबिम्वित गर्छ । यसमा भएका आँखीझ्यालले वोरण अनि साना–साना असंख्य चित्रहरू (पहिलो तल्लामुनी निस्केका दलीनहरूबीच छन्) ज्यादै महत्वपूर्ण मानिन्छन् । पहिलो तल्ला भित्रपट्टीको चित्रकला ज्यादै उत्कृष्ट छन् भने दोश्रो तल्लामा काष्ठकला प्रदर्शित गरिएका छन् । स्वर्णद्वारको अगाडि विशाल खम्बामाथि सुनको मोलम्वानामा स्थापित भुपतिन्द्र मल्लको शालिक भक्तपुर दरबार क्षेत्रको अर्को आकर्षण हो । ५५ झ्याले दरबारको अगाडि कुनामा एक तल्लामाथि ठुलो घण्टा झुन्डाइएको छ, जुन रणजीत मल्लले स्थापना गरेको अभिलेख पनि त्यसैमा कुँदिएको छ । ठुलो घण्टासँगै शिखर शैलीको ढुंगाको मन्दिर, ५५ झ्यालको कुनामा रहेको दुर्लभ जीवजन्तरको मृर्ति सहितको शिखर शैलीको ढुंगाका मन्दिर र भक्तपुर नगरपालिका जानेवाटोमा पर्ने १ तल्ले छाना भएको रातो मन्दिरलाई ३ वत्सलाको मन्दिर भन्ने चलन छ ।
भक्तपुरको दरबार क्षेत्रको भित्री भागमा एउटा सानो चोक रहेको र चारैतिर कोठाहरू देखिन्छन् । यहीं मल्ल राजाहरूको वैठकस्थल पनि रहेको छ । भूपतिन्द्र मल्लको शालिक रहेको सानो ढोका बाहिरको क्षेत्रमा घण्टाको दाहिनेपट्टि वत्सला दुर्गा मन्दिर पनि रहेको र यो शिखर शैलीमा निर्माण भएको देखिन्छ । दरबार क्षेत्रको भ्रमणमा जाने व्यक्तिहरूको लागि ठुलो आकर्षणको रूपमा रहेको छ, वत्सला दुर्गा मन्दिर । भक्तपुरमा रहेका प्यागोडा मन्दिरहरू र भवनहरू विविध विशेषता, विविध संस्कृति र परम्परालाई प्रतिविम्वित गर्न सफल देखिन्छन् ।
 
४.स्वयम्भूनाथ स्तुप
 
काठमाडौं उपत्यकाको पश्चिम डाँडामा पौराणिक तथा ऐतिहासिक महत्व राख्ने स्वयम्भू चैत्य अवस्थित छ । स्वयम्भूनाथ स्तुप मानव निर्मित नभएर आफै उत्पति भएको धरोधर हो भन्ने धार्मिक मान्यता राखिन्छ । पाँचौं शताब्दीमा मानदेवको पालामा अर्थात् पाँचौ शताब्दीमा स्वयम्भूको अत्यन्त सुन्दर स्तुपको निर्माण भई सकेको दखिन्छ । स्वयम्भू महाचैत्यको निर्माणपछि कपिलवस्तु, भारतका वनारसलगायत बिभिन्न ठाउँ र चीनको ल्हासाका बिभिन्न स्थानहरूबाट आएका मानिसहरूले स्वयम्भू चैत्यमा दीक्षा दिने÷लिने पुनः निर्माण गर्ने आदि असंख्य कामहरू गरेको देखिन्छ । कपिलबस्तुका पण्डित ओडियानथले स्वयम्भू चैत्यको दर्शन गरेर अष्टसिद्धि योग प्राप्त गरेका थिए । स्वयम्भू महाचैत्यको वरिपरि रहेका शान्तिपुर, वायुपुर, अग्निपुर, नागपुर, नामक पञ्चतत्वको देवस्वरूप मूर्ति र मन्दिरहरूले सौन्दर्यलाई थप आकर्षण गरेका छन् ।
काठमाडौं उपत्यकाको पश्चिमतिर सानो डाँडामा रहेको स्वयम्भू महाचैत्य पुग्नका लागि ३६० खुड्किला बनाइएको छ । खुड्किलाको भ¥याङको सुरूमा शिलाका तीन अछोम्य बुद्धका मूर्तिहरू रहेका छन् । पश्चिमतिरबाट पनि पैदलै पुग्न सकिन्छ भने दक्षिणतिरबाट सडक यातायात चैत्यको नजिकै पुगेको छ ।
 
५.पशुपति क्षेत्र
 
भगवान् श्री पशुपतिनाथलाई नेपालीहरूका मात्र नभई संसारभरकै हिन्दूहरूले परम आराध्य परमेश्वरको रूपमा पुज्दछन् । ज्योतिलिङ्ग स्वरूपमा विराजमान पशुपतिनाथ र यस वरिपरिको पावन पशुपति क्षेत्र समस्त हिन्दूहरूको श्रद्धा र आस्थाको केन्द्रविन्दु एवम् पवित्र तीर्थस्थलको रूपमा रहिआएको छ । पशुपतिनाथको मन्दिरमा केन्द्रित पशुपति क्षेत्र करिब ४९२ हेक्टरको क्षेत्रफलमा फैलिएको छ । देउपाटन, जयबागेश्वरी, गौरीघाट, चावहिल, कुटुम्बहाल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक बन आसपासको क्षेत्र पाशुपत घेरामा पर्दछ । पशुपति क्षेत्रमा करिब ४९२ साना ठूला बिभिन्न शैलीका मन्दिर, सत्तल, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिक स्थल र लगभग एक हजार शिवलिङ्ग रहेका छन् । (स्रोत ः ‘विश्व सम्पदा सूचिमा नेपालका सम्पदाहरू’ श्री ५ को सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग, २०५६, पेज नं. १०)
 
६.पाटन दरबार क्षेत्र
 
सातौंदेखि १३औं शताब्दीसम्म पाटन एशियाकै बुद्ध धर्मको प्रमुख स्कूलको रूपमा स्थापित भएको देखिन्छ । यहाँ रहेका बहाल, बिहार र स्तुपाले यो कुराको पुष्टि गरेका छन् । पाटन दरबार स्वायर क्षेत्र मल्ल राजाहरूको निवास रहेको मुख्य थलोको रूपमा रहेको पाइन्छ । यो क्षेत्रमा तत्कालीन राजाहरूले खानपिन, आराम र बैठकको लागि उपयुक्त हुने देउतले भवनको मात्र होइन, कयौं कलात्मक मन्दिरहरूको पनि निर्माण गर्न लगाएका छन् । पाटन दरबार क्षेत्रको सुन्दर कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको शहरले सम्बोधन गर्ने गरेको पनि पाइन्छ । त्यसमा पनि पाटनको दरबार स्वायर क्षेत्र भवन र मन्दिरको स्थलजस्तो लाग्छ । यहाँ योगनरेन्द्र मल्लको सुन्दर सुनौलो मूर्ति छ । पाटनको सबैभन्दा महत्वपूर्ण आकर्षण हो, दरवार स्कवायर क्षेत्रमा देउतले भवनको आगाडि रहेको सुन्दर र कलात्मक कृष्ण मन्दिर । राजा सिद्धिनरसिंह मल्लले सन् १६३० मा निर्माण गर्न लगाएको पाटन कृष्ण मन्दिरलाई पर्यटकहरूले निकै मन पराएको देखिन्छ । पाटन दरबार क्षेत्र उतर–दक्षिण आयाताकार रूपमा अवस्थित छ । पूर्वतिर दरबार क्षेत्र र पश्चिमतर्फ लस्करै मन्दिरहरू रहेको हुनाले एकै दृष्टिमा बिभिन्न मन्दिरहरू र दरबार हेर्दा अनुपम देखिन्छ ।
७.हनुमान ढोका दरबार क्षेत्र
 
राजधानी काठमाडौंको केन्द्रमा रहेको हनुमान ढोका दरबार क्षेत्र एउटा संरक्षित स्मारक क्षेत्र हो । ने.सं. ७९२ (विं.सं १७२९) मा मल्लकालका प्रसिद्ध राजा प्रताप मल्लले हनुमानको मूर्ति स्थापना गरेपछि यसको महत्व र दरबार रहन गएको हो । दरबार स्क्वायरको बीच भागमा अजंगको देखिने काल भैरबको मूर्ति छ । यहीं मल्लहरूका दरबारका अतिरिक्त पृथ्विनारायण शाहले निर्माण गर्न लगाएको नौतले दरबारसमेत छ । नौतले दरबार नजिकै रहेको कुमारी घरको महत्व उत्तिकै छ जहाँ शाक्य कूलकी सानी केटीलाई जीवित देवीको रूपमा राखिएको छ । हनुमानको मूर्ति पछाडि सानो बार्दली रहेको भवनको छानामा हनुमानढोका मुख्य प्रवेशद्वारमाथि बायाँपट्टि तीन छाना भएको मन्दिर छ । यो मन्दिर ‘आगमछे’ नामले प्रसिद्ध छ । हनुमानको मूर्तिको दाँयापट्टि दरबार प्रवेश गर्ने मुख्यद्वारको रूपमा रहेको सुवर्णद्वारलाई बिशेषरुपमा सजाइएको छ । वि.स.१८८७ को नापीमा हुनमान ढोका दरबारको क्षेत्रफल अहिलेको भन्दा निकै ठुलो र विस्तृत रहेको थियो । तर अहिले अतिक्रमण भैसकेको छ । नासल चोकको दक्षिण पूर्वी कुनामा चारतह छाना भएको नौतले वसन्तपुर दरबार छ । वसन्तपुर दरबार नेपाली मन्दिर शैलीमा निर्माण भएको छ ।
 
८.सगरमाथा राष्ट्रिय निकुञ्ज
 
सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलरीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि संसारभर सगरमाथा अञ्चलमा अवस्थित हिमशिखर सगरमाथा तथा खुम्बु क्षेत्रको चर्चा हुन थाल्यो । नेपालमा निकुञ्ज तथा संरक्षण क्रियाकलापमा संलग्न एफएओ का एक उच्च अधिकारी जोन ब्लाओरले सन् १९७१ मा सगरमाथा क्षेत्रको भ्रमण गरी यस क्षेत्रमा निकुञ्ज स्थापना गर्नुपर्ने आवश्यकता औल्याए । तत्कालिन श्री ५ को सरकार, न्युजिल्याण्ड सरकार, वातावरणविद्हरू, पर्यटकहरू र स्थानीय जनताको सहयोगमा सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना पनि भयो । त्यसो त, हिमाली राज्यको रूपमा विश्वमा परिचित हुँदै आएको नेपालका अधिकांश उच्च र मनोरम दृश्यका हिमशिखरहरू सगरमाथा राष्ट्रिय निकुञ्जकै माथिल्लो भागमा पर्छन् । निकुञ्जमा पर्ने ८००० मिटरभन्दा बढी उचाईका हिमालहरू धेरै छन् । ८,८४८ मिटर उचाइको सगरमाथासहित ८,५१६ मिटर उचाइको ल्होत्से, ८,४०० मिटर उचाइको ल्होत्सेसार र ८,२०१ मिटर उचाइको चायु हिमाल छन् । त्यसैगरी, ७,००० मिटरभन्दा बढी उचाईका हिमालहरूमा ७,७४३ मिटर उचाइको नोजुंम्वाकाङ्ग, ७,८५५ मिटर उचाइको नुद्से, ७,१६१ मिटर उचाइको पुमोरी, ७,५९१ मिटर उचाइको शान्ति शिखर र ७,५५९ मिटर उचाईको झार्से छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको अधिकांश भूभाग समुद्री सतहबाट ३,००० मिटरभन्दा बढी उचाईमा छ ।
 
९.चितवन राष्ट्रिय निकुञ्ज
 
चितवन राष्ट्रि निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । शाही चितवन राष्ट्रिय निकुञ्जको नाममा २०३० सालमा स्थापना भएको यो निकुञ्जलाई अहिले चितवन राष्ट्रिय निकुञ्जबाट चिनिन्छ । प्राकृतिक वातावरण, वन्यजन्तु, पंक्षी, वनस्पति र भू–दृश्यहरूका दृष्टिले चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । ९३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्जले चुरे पर्वत, राप्ती उपत्यका, नारायणी, राप्ती र रिउ नदीहरूले बनाएको मैदानी भाग, सिमसार क्षेत्र, ताल, तलैया, बनजंगल, झाडी, बुट्यान आदि क्षेत्रहरूलाई समेटेको छ । यो निकुञ्ज महाभारत पहाडको फेदिदेखि दक्षिणतर्फ फैलिएको छ । विविधतापूर्ण प्राकृतिक वातावरण, उपलब्ध जैविक विविधतामा सम्पदाको दृष्टिकोणले चितवन राष्ट्रिय निकुञ्ज अत्यन्त महत्वपूर्ण छ । यो निकुञ्जमा पचासौं जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन् । ३० भन्दा बढी ठूला जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्जको महत्व विश्वमै दुर्लभ एकसिंगे गैंडा र ठूला हात्तीहरूले बढाएका छन् ।
 
१०.बौद्धनाथ महाचैत्य
 
काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठुलो स्तुप हो, बौद्धनाथ स्तुप । राजधानीदेखि झण्डै ८ कि.मि पूर्वमा अवस्थित छ । बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ । यो गुम्बा पाँचौ शताब्दीमा बनेको अनुमान गरिन्छ तर ठोस प्रमाण भने भेटिएको छैन । तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ । डनियल राइटद्वारा सम्पादित उन्नीसौं शताब्दीको एउटा वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथमले (४६४–५०५सन्) गरेको देखिन्छ । बौद्ध मार्गीहरूले बौद्धनाथ महाचैत्य पनि स्वयम्भूनाथ महाचैत्यजस्तै आफै उत्पन्न भएको हो भन्ने विश्वास पनि राखेको पाइन्छ ।
 
विश्व सम्पदा सूचीमा परेका स्थलहरूको सुरक्षा सम्बन्धित देशको मात्रै नभएर विश्वकै जनताको जिम्मेवारीभित्र रहन्छ । त्यसैले नेपालका १० धरोहरको संरक्षणलाई विश्वकै जिम्मेवारी भित्र पार्नु नेपालका लागि अति नै सकारात्मक पक्ष हो । युनेस्कोको पहलमा सन् १९५४ को २१ अप्रिल देखि १४ मे सम्म हेगमा सम्पन्न अन्तरर्राष्ट्रिय सम्मेलनले १४ मे १९५४ का दिन तयार पारेको महासन्धीमा सशस्त्र संघर्षको बेलामा सांस्कृतिक सम्पदाको सुरक्षा गर्नु विश्वकै जनताको जिम्मेवारी भएको उल्लेख छ । काठमाडौं उपत्यकाको विश्व सम्पदा सूचीमा परेका स्थलहरूको मूल्यांकन युनेस्कोले नोभेम्वर १९९३ मा संयुक्त रूपमा गरेको थियो । युनेस्कोको पुनरावलोकनले विश्व सम्पदा सूचीमा परेका स्थलहरूको दिनहुँ ह्रास हुँदै गएको स्थिति देखेर ती स्थलहरूलाई एक देखि तीन वर्षसमम्म खतरामा परेको विश्व सम्पदा स्थलहरूको सूची (खतरामा रहेका सम्पदाहरू) मा राख्ने र विभिन्न शर्तहरू पूरा गरेको अवस्थामा पुन विश्व सम्पदा सूचीमा राख्ने सिफारिस गरेको देखिन्छ । युनेस्कोले पशुपति क्षेत्रमा बढ्दै गएको मानवीय र भौतिक अतिक्रमणबारे त नेपाललाई अहिले पनि सचेत समेत गराउँदै आएको छ । हाम्रँ यी सम्पदाहरू मध्ये अधिकांश अहिलेका भौतिक विकासका प्रतिफल होइनन्, सनातन कालदेखिका धरोहर हुन् भने कतिपय प्रकृतिका अनुपम देन हुन् । हामीलाई त यी धरोहरलाई केवल संरक्षित गर्नसक्ने हैसियतको खाँचो छ र यिनै धरोहरबाट विदेशी पर्यटकलाई आकर्षित गर्ने ठूला योजनाहरूको खाँचो छ ।

You need to login to comment.

Facebook Comments