Welcome, Guest

नेपालको परराष्ट्र नीतिमा प्रभाव पार्ने तत्वहरु

2078-04-13  /  1.5K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

परिचय
  • वर्तमान एक्काइसौं शताब्दीमा संसारको कुनै पनि मुलुक सार्वभौम र स्वतन्त्र भएतापनि पूर्ण रूपमा आत्म निर्भर हुन सक्दैन । त्यसैले राज्य राज्यका आवश्यकता पूरा गर्न वा सहयोगको आदन प्रदान गर्न त्यस्तो नीति सञ्चालन गरिन्छ जुन वैदेशिक नीति हो ।
  • वैदेशिक नीति भनेको कुनै एक राष्ट्रले आफ्ना छिमेकीहरू तथा अन्य अन्तर्राष्ट्रिय  शक्तिहरूसँग कस्तो सम्बन्ध राख्ने भन्ने विषयमा तय गरेको नीति नै हो । 
  • एक राष्ट्रको वैदेशिक नीतिको लक्ष्य मुख्यतः आर्थिक, सामाजिक, राजनीतिक, व्यापारिक एवं सैन्य क्षेत्रमा सहयोगको आदान प्रदान कसरी अन्य राष्ट्रहरूसँग गर्ने भन्ने नै हुन्छ ।
  • एक राष्ट्रले अर्को राष्ट्रसँग सञ्चालन गर्ने वैदेशिक नीति त्यो मुलुकको राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र जनताको सुरक्षासँग सम्बन्धित हुन्छ ।  
  • जुनसुकै देशको पनि परराष्ट्र नीतिको पहिलो चासो भन्नु देशको स्वाधीनता र सुरक्षाको चासो नै हो । दोस्रो चासो भनेको देशको आर्थिक हितको खोजी एवं संरक्षणको चासो हो । त्यस बाहेक ठूला शक्तिशाली देशहरूमा चाहि अन्य देशले आफ्नो देशभित्र घुसपैठ गर्ने, चलखेल गर्ने र आफ्ना सिद्धान्तहरूको प्रचार गर्ने गर्छन् कि भन्ने विषयमा निरन्तर चासो र चिन्ता रहन्छ तर उनीहरू आफै अर्काको देशमा घुसपैठ गर्ने र चलखेल गर्ने काम लाजै नमानीकन गर्दछन् । -कार्ल ऊल्फगा डोइच 
  • वैदेशिक नीतिको सिद्धान्तका विषयमा हार्वर्ड विश्व विद्यालयका विश्व प्रसिद्ध प्रोफेसर डोइचको उल्लेखित तीनै कुरा (अर्थात् राष्ट्रिय स्वाधीनता र सुरक्षाको चासो, आर्थिक हितको संरक्षण र ठूला देशले घुसपैठ गर्ने कुरा) नेपालको परराष्ट्र नीतिबारे विचार गर्दा मननयोग्य छन् । एसियाका दुई महाशक्तिहरू र विश्वका दुई सबैभन्दा ठूला जनसंख्या भएका देशहरूका वीचमा रहेको नेपालको परराष्ट्र नीति सफल रूपमा सञ्चालन गर्ने कुरा निकै नै चुनौतीपूर्ण छ । त्यस्तो सफल र प्रभावकारी परराष्ट्र नीति सञ्चालन गर्न हाम्रो परिस्थितिको यथार्थपरक मूल्याङ्कन गर्नु आजको अत्यावश्यक पूर्वशर्त हो । 
  • जुनसुकै देशको पनि परराष्ट्र नीतिलाई निर्धारण गर्ने प्रमुख कारकहरूमा भूगोल, इतिहास, भाषा, धर्मसंस्कृति, आर्थिक बल, सैन्यशक्ति, व्यापार-वाणिज्य सम्बन्ध, राजनीतिक नेतृत्व र उसको आदर्श वा सिद्धान्त हुन् । नेपालको परराष्ट्र नीतिलाई निर्धारण गर्ने तत्वहरू पनि यीनै हुन् । 
नेपालको परराष्ट्र नीतिमा प्रभाव पार्ने तत्वहरुः
भूराजनीतिक अवस्थाः 
भूराजनीतिले मुलतः नेपालको भारत र चीनसँग रहँदै आएको भौगोलिक, साँस्कृतिक, आर्थिक र राजनीतिक अवस्थालाइ उजागर गर्दछ (खनाल, २०७३) । त्यसैले नेपालको परराष्ट्र नीतिमा प्रभाव पार्ने महत्वपूर्ण तत्वको रुपमा भूराजनीतिलाइ मानिएको छ । नेपाल भुपरिवेष्ठित मुलुक भएको हुँदा बाहिरी विश्वसँग सहज रुपले आफ्ना आवश्यकता पुरा गर्न, सम्बन्ध सम्पर्क स्थापना गर्न एवं आफ्नो सीमा जोडिएको/घेरिएको मुलुकको सहयोगमा मात्र तेस्रो मुलुकबाट सहयोग आदान प्रदान गर्न सक्दछ । त्यसले पनि नेपालको परराष्ट्र नीतिमा भूराजनीतिक अवस्थाले गहिरो प्रभाव पारेको छ ।
 
सामाजिक साँस्कृतिक तत्वः 
नेपाल पुर्व, पश्चिम र दक्षिणमा भारतसँग र उत्तरमा चीनसँग सीमा जोडिएर रहेको छ । नेपाल भारत र नेपाल चीनबिच सीमा क्षेत्रमा भाषा, चालचलन, रीतिरिवाज, रहन सहन, धर्म, संस्कृति मिल्दो जुल्दो छ । यस्तो गहिरो सामाजिक साँस्कृतिक सम्बन्धले जनता जनताबिच असल छिमेकीपनको विकास भएको पाइन्छ । यसैगरी नेपालमा रहेका धार्मिक स्थलहरु (पशुपतिनाथ, हलेसी, मुक्तिनाथ, जानकी मन्दिर, लुम्बिनी, स्वयम्भु)  मा भारत तथा चीनबाट हिन्दु तथा बौद्ध धर्मालम्बीहरु आउनाले धार्मिक आस्था, विश्वास, साँस्कृतिक सम्पदा र परम्पराको भावनाले मुलुकको परराष्ट्र नीतिमा गहिरो प्रभाव पारेको छ ।
 
ऐतिहासिक साँस्कृतिक तत्वः 
इतिहास र साँस्कृतिक सम्पदा राज्यका लागि अति महत्वपूर्ण, नभइ नहुने तत्व हुन् । इतिहास र संस्कृतिको ब्याख्या गर्दा नेपालको विगतमा परराष्ट्र नीति के कसरी सन्चालन भएको थियो । अव कसरी सन्चालन गर्न सकिन्छ । मुलुकको परराष्ट्र नीति कस्तो थियो, कस्तो छ र अव कस्तो नीति अपनाउनु पर्छ भन्ने जस्ता कुराहरुको विष्लेषण गर्न सकिन्छ । इतिहासको जग र वर्तमानको आवश्यकताको आधारमा राष्ट्रिय स्वार्थ सन्चालन गरिने भएकोले जनताको राष्ट्रिय एकतानै परराष्ट्र नीतिमा प्रभाव पार्ने ऐतिहासिक तत्व हो । यसैले परराष्ट्र नीतिको सन्चालन ऐतिहासिक परम्परा र अनुभवका आधारमा निर्धारण गरिएको हुन्छ ।

सैन्य वलः 
कुनै पनि मुलुकको सैन्य शक्तिको अवस्थाले त्यो मुलुकको समग्र सामर्थ्य नाप्ने गरिन्छ । विशौं शताव्दीमा सैन्य होडबाजी र अवस्था नै शक्तिको प्रमुख आधार थियो । नेपालको पनि सैन्य वलकै कारण कुनै पनि मुलुकको उपनिवेश हुनु नपरेको इतिहास छ । त्यसैले पनि परराष्ट्र नीतिमा प्रभाव पार्ने एक महत्वपुर्ण तत्व सैन्य वल हो । 

अर्थिक वलः 
अर्थतन्त्र वा आर्थिक अवस्था के कस्तो छ त्यस्कै आधारमा त्यो देशको परराष्ट्र नीति सन्चालन गरिएको हुन्छ । आर्थिक वल सवल हुने र कमजोर हुने मुलुकहरुको परराष्ट्र नीतिमा व्यापक भिन्नता हुने गर्दछ । नेपालको परराष्ट्र नीतिमा नेपालको आर्थिक अवस्थाको प्रभाव परेको छ । हाल नेपाललाइ कमजोर आर्थिक अवस्था भएको गरिव मुलुकको सूचीमा राखिएको छ । यदि आर्थिक रुपमा दरो भएको भए छिमेकी एवं अन्य राष्ट्रले हेर्ने दृष्टिकोण फरक हुन्थ्यो । नेपालले प्राकृतिक स्रोत साधन र जनशक्तिको उपयोग गरी आर्थिक वल सवल बनाउन जरुरी यस कारण पनि छ कि यो परराष्ट्र नीतिमा प्रभाव पार्ने अति महत्वपूर्ण तत्व मध्ये एक हो ।

नेतृत्वको भूमिकाः 
देश र जनताको हितमा नै आफ्नो हित देख्न सक्ने लोकतान्त्रिक विचार बोकेको रुपान्तरणकारी, क्षमतावान, दुरदर्शी, अनुभवी, साहसी, कुशल नेताले परराष्ट्र नीति सन्चालनमा अहम भूमिका खेल्न सक्छ । राजनीतिक नेतृत्वले परराष्ट्र नीतिको निर्माण र त्यसको कार्यान्वयनद्धारा मुलुकहरुबिचको सम्बन्धमा आमूल परिवर्त गरेर आफ्नो मुलुकको राष्ट्रिय हितलाइ मजबुद र सवल बनाउन सक्छ त्यस कारण पनि नेतृत्वको भूमिका परराष्ट्र नीतिमा एक महत्वपूर्ण तत्वको रुपमा रहेको हुन्छ ।

औद्योगिक क्षमताः 
औद्योगिक क्षमताको विकास, उद्योग धन्दाको विकास तथा उत्पादन सामाग्रीको निर्यात र वितरण गर्न सके यसले मुलुकहरुको सम्बन्धमा फरक पार्न सक्दछ । यो मुलुक स्वयम आत्मनिर्भर रहने एक उपाय पनि हो । नेपालको औद्योगिक क्षमता कमजोर रहेको कारण निर्यात भन्दा आयात अधिक रहेको छ त्यसैले यसमा ध्यान जान जरुरी छ । औद्योगिक क्षमताको माध्यमबाट समग्र मुलुकको आर्थिक कायापलट गर्न सकिन्छ त्यसैले परराष्ट्र नीतिमा औद्योगिक क्षमता पनि प्रभाव पार्ने एक तत्व हो ।

विचारधाराः 
विचारधाराकै आधारमा मुलुकको शासन व्यवस्था संचालन भएको हुन्छ । राजनीतिक दर्शन, सिद्धान्त र विचारधाराकै आधारमा कुनै पनि मुलुकले कुन मुलुकसँग कस्तो सम्बन्ध राख्ने, कस्तो परराष्ट्र नीति अवलम्बन गर्ने भन्ने कुरा निर्धारण गर्दछ । नेपालमा पनि पृथ्वीनारायण शाह, वि.पी. कोइराला, पुष्पलाल श्रेष्ठले तय गरेका विचार, धारणा र दृष्टिकोणका आधारमा परराष्ट्र नीति संचालन हुदै आएको पाइन्छ । यसकारण पनि परराष्ट्र नीतिमा पुँजीवाद, नव उदारवाद, समाजवाद जस्ता विचारहरुको प्रभाव परेको पाइन्छ, त्यसैले विचारधारा एक महत्वपूर्ण तत्व हो ।

प्राकृतिक स्रोतः 
प्राकृतिक स्रोत साधन सम्पन्न मुलुकले आफ्नो आवश्यकता अनुसार ति स्रोतहरुको उपयोग गरेर आत्मनिर्भर र आर्थिक रुपमा सवल हुन सक्दछ । आत्मनिर्भताले अन्तराष्ट्रिय सम्बन्धमा प्रभाव पार्दछ । प्राकृतिक स्रोत साधनले मुलुकको सामर्थ्य तथा शक्ति मापन हुने भएकोले प्राकृतिक स्रोतलाइ परराष्ट्र नीतिमा प्रभाव पार्ने तत्वका रुपमा लिइन्छ ।

कुटनीतिक कौशलताः 
मुलुकहरुबिचको सम्बन्ध कस्तो हुने भन्ने कुरा कुटनीतिक कौशलता पनि भर पर्दछ । दक्ष, उच्च, कुशल कुटनीतिज्ञले अन्तराष्ट्रिय राजनीतिमा आफ्नो क्षमता प्रदर्शन गरेर मुलुकको राष्ट्रिय स्वार्थ पुरा गर्न सक्दछ । दुई वा सो भन्दा बढी राष्ट्रबिचको मनमुटाव, द्वन्द्व, तनावको अवस्थालाइ समाधान गर्न सक्दछ । कुटनीतिको मूल उद्येश्य भनेकै अन्तराष्ट्रिय रुपमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो मुलुकको राष्ट्रिय हित पुरा गर्नु भएकोले यसलाइ परराष्ट्र नीतिमा प्रभाव पार्ने एक महत्वपूर्ण तत्व मानिन्छ ।

अन्तर्राष्ट्रिय बातावरणः 
छिमेकी मुलुक तथा अन्य मुलुकमा परेको सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, वातावरणिय अवस्थाको प्रभाव छिमेकी मुलुकमा समेत पर्दछ । अन्तराष्ट्रिय बातावरणमा परेको प्रभाव र त्यसको असर मुलुकहरुको परराष्ट्र नीतिमा पर्ने भएकोले यसलाइ एक तत्वका रुपमा लिइन्छ ।

विश्व दृष्टिकोण एवं धारणाः 
विश्वव्यापी रुपमा शक्तिको प्रवाह कुन मुलुकले गरिरहेको भन्ने आधारमा विश्वव्यापी दृष्टिकोण बन्ने गर्दछ । १७/१८ औं शताव्दीमा वेलायत शक्तिको रुपमा थियो २० औं शताब्दीमा अमेरिका र रसिया शक्तिकेन्द्रको रुपमा रहेका थिए । २१ औं शताब्दीमा चीन, अमेरिका र रसिया मुख्य शक्तिका रुपमा छन । हाल एशिया महादेशले विश्व नेतृत्व गर्ने भविष्यवाणी चलिरहेको छ भने चीन, भारत र पाकिस्तान जस्ता देशहरु यहाँ छन । चीनले आर्थिक हस्तक्षेप विश्वव्यापी बढाएको छ भने अमेरिकाले सुरक्षा चासो व्यक्त गर्दै आएको छ । यस्ता कारणहरुले मुलुकहरुका परराष्ट्र नीतिमा प्रभाव पार्ने भएकोले विश्व दृष्टिकोणलाइ एक तत्वका रुपमा लिइन्छ ।

अन्तराष्ट्रिय संगठनः 
अन्तराष्ट्रिय संगठनको हिसाबले कुनै पनि सदस्य मुलुकले उक्त संगठनले गरेका निर्णय मान्नुपर्ने हुन्छ । जस्तै संयुक्त राष्ट्र संघले गरेका निर्णय सदस्य राष्ट्रका लागि अन्तराष्ट्रिय कानुन बन्दछ । त्यस्तो अन्तराष्ट्रिय कानुन पनि परराष्ट्र नीतिको आधार हो । अन्तराष्ट्रिय संगठनको निति नियम र आचारका आधारमा  मुलुकहरुको परराष्ट्र नीति संचालन हुने भएकोले यसलाई एक तत्वको रुपमा लिइन्छ । 

राजनीतिक स्थायित्वः 
परराष्ट्र नीतिमा प्रभाव पार्ने तत्वको रुपमा राजनितिक स्थायित्व पनि हो । अस्थिर राजनीतिले आर्थिक विकासमा गतिरोध पैदा गर्दछ भने समग्र मुलुकको विकास, समृद्धि एवं शुसासनमा कमजोर नतिजा दर्शाउँछ । जसले गर्दा अन्य मुलुकहरुले हेर्ने दृष्टिकोण फरक पर्दछ । राजनीतिक स्थायित्वले मुलुकको राष्ट्रिय हित तथा एकता कायम गर्न महत्वपूर्ण भूमिका प्रदान गर्दछ । नेपाल जस्तो विकासोन्मुख मुलुकमा राजनीतिक अस्थिरताले बैदेशिक चलखेल एवं हस्तक्षेप बढाउने जोखिम रहन्छ र जसको प्रत्यक्ष प्रभाव परराष्ट्र नीतिमा पर्ने भएकोले यसलाइ एक तत्वका रुपमा लिने गरिन्छ । 
 
नेपालको परराष्ट्र नीतिमा प्रभाव पार्ने तत्वहरुलाइ ह्दायाङ्गम गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशिल रहदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तराष्ट्रिय कानून र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्रनीति सञ्चालन गर्ने । विगतमा भएका सन्धिहरुको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरु गर्ने अन्तराष्ट्रिय सम्बन्ध सम्बन्धी नीति अनुरुप अघि बढ्न तथा कोरोना भाइरसको बढ्दो संक्रमणलाई परास्त गरी जनताको जीवनरक्षा गर्न कुटनीतिलाई थप मजबुद बनाउनुनै आजको आवश्यकता हो । 

You need to login to comment.

Facebook Comments

Read More News